काठमाडौँ। पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार १२ हजार ४९८ को परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो। हालसम्म पाँच हजार पाँचजना सक्रिय सङ्क्रमित रहेका छन्।
पछिल्लो समय थप २५५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यो सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट दुईको मृत्यु भएको छ। हालसम्म ११ हजार ५९८ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ। पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन्। दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन्।
यस्तै, शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन्। नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ। हाल होम आइसोलेशनमा चार हजार ७५३, संस्थागत आइसोलेशनमा २५२, आइसियुमा ८९ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ।
आज अहिलेसम्मकै सबैभन्दा बढी जनाले खोप लगाएका छन्। मन्त्रालयका अनुसार आज तीन लाख ४४ हजार ४४ जनाले खोप लगाएका हुन्। हालसम्म पहिलो मात्रा एक करोड ४३ लाख ६० हजार ६८३ र पूर्ण मात्रा एक करोड पाँच लाख ९७ हजार ७९७ ले खोप लगाइसकेका छन्।