पर्सा - विद्यार्थीलाई उच्च शिक्षाका लागि जानकारी दिने उद्देश्यले वीरगञ्जमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय शैक्षिक मेलाको करिब चार हजार विद्यार्थीले अवलोकन गरेका छन्। आस्था नेपाल र कृष्णा फाउण्डेशनको संयुक्तरूपमा आयोजनामा गरेको शैक्षिक मेलाको आयोजना गरेका थिए।
उच्च शिक्षाका लागि भारत जान चाहनेहरूलाई मध्यनजर गर्दै आयोजित शैक्षिक मेला शुक्रबार र शनिबार चलेको थियो। शैक्षिक मेलामा छिमेकी राष्ट्र भारतका ख्यातिप्राप्त १५ कलेजका प्रतिनिधिले विद्यार्थीलाई निःशुल्क परामर्श दिएका थिए।
विद्यार्थीलाई कुन–कुन विषय अध्ययन गराइन्छ र सो अध्ययन गर्दा कति शुल्क लाग्छ भन्नेसहितका सम्पूर्ण जानकारी दिने अभिप्रायले मेला आयोजना गरिएको फाउण्डेशनले जनाएको छ। बाराको सिमरा, कलैया, जितपुर, रौतहट, पर्सालगायतका विभिन्न ठाउँका गरी झण्डै चार हजारभन्दा धेरै विद्यार्थी एवं अभिभावकले शैक्षिक मेलामा सहभागी भएर निःशुल्क परामर्श लिएका थिए।