काठमाडौँ - उच्चशिक्षा र रोजगारीका लागि नुवाकोटबाट २०५१ सालमा काठमाडौँ छिरेर ठमेलका गल्लीतिर भौँतारिँदै गर्दा श्यामप्रसाद तिमिल्सिनालाई एक होटलमा काम गर्ने अवसर मिल्यो।
अरूको काम गरेर मात्रै जीवन चल्दैन, आफैले केही गर्नुपर्छ भन्ने भावनालाई साकार पार्ने अठोट लिएका तिमिल्सिना होटेलमा भेटिएका एक विदेशीको प्रोत्साहनमा हस्तकलाको काम सिक्न भारतको नयाँ दिल्ली जान तयार भए। अरूले कागजमा लेखिदिएको बाटोको ठेगानाका भरमा उनी आफ्ना साथीहरू मुकुन्द ढकाल र अच्युत सिग्देलसँगै महेन्द्रनगर पुगेर टाँगा चढी रात्रि बस हुँदै दिल्ली पुगे।
दिल्लीमा सिसाको हस्तकलासम्बन्धी काम सिकेर तिमिल्सिना त्यहाँको कम्पनीको व्यवस्थापकसम्म हुन पुगे। त्यही बीचमा तिमिल्सिनाले भाइ राजेश तिमिल्सिना, आफन्त र अन्य नेपाली युवालाई भारतमा लगेर सीप सिकाएर काम लगाइसकेका थिए। सोही क्रममा नेपालमा तिमिल्सिनाका सहपाठी नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का व्यवसायी गोपीप्रसाद कँडेलले आफ्नै मुलुकमा हस्तकला सिसा उद्योगको उत्पादन र व्यवसाय गर्न प्रोत्साहन गरेपछि श्यामका दाजुभाइ भारतको काम छाडेर पाँच वर्षपछि जन्मभूमि नेपाल फर्किए। उनीहरू सबै मिलेर पुतलीसडकस्थित कँडेलको कागज उद्योगबाट २०५५ साल माघ २२ गते नेपालमै पहिलोपटक सिसाको हस्तकलाको सामान उत्पादनकर्ता बने।
त्यसरी शुरु भएको नेपालको हस्तकला शिक्षा उद्योग थालनीले दुई दशकमा पाइला टेक्दा यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब १५ हजारको रोजगारी र सयभन्दा बढी उद्योगको सञ्जाल विस्तार गर्न सफल भइसकेको छ। यतिमात्र होइन यही कलाको उत्पादन र निर्यात गर्ने काठमाडौँ टोखा नगरपालिका–५ स्थित पिपुल्स क्राफ्ट एक्सपोर्टका संस्थापक कँडेलले २०७६ मा नेपाल सरकारबाट दिइने ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) सम्मान प्राप्त गर्न सफल भए। केही वर्ष अमेरिकामा पुगेर व्यवसाय गरेका कँडेल स्वदेशमै समृद्धिका लागि केही गर्नुपर्छ र अरु युवालाई पनि प्रोत्साहित गर्नुपर्छ भनेर स्वदेश फर्किएर कृषि फार्म, ग्यास तथा सौर्य उत्पादनका अन्य क्षेत्रमा पनि लगानीकर्ता बनेका छन्।
व्यवसायी कँडेलका अनुसार युरोपका मुलुक, क्यानाडा, अमेरिकालगायत मुलुकका नेपाली हस्तकलाको सिसाका उत्पादन पुग्ने गर्छन्। सिसाका विभिन्न आकारका गिलास, सजाउने माछा, भ्यागुतो, डेकोरेशनका सामाना, तमाखु खाने पाइप (पिनेट पाइप), च्याम्बर, बबलरजस्ता उत्पादन विदेशिने गरेका छन्। कँडेलले आफूहरु यस क्षेत्रमा भारत र चीनजस्ता मुलुकको बजारसँग प्रतिस्पर्धा गरेर टिकिरहेको बताउँदै यस प्रकारको उद्योगका लागि राज्यका तर्फबाट थप प्रोत्साहन गरिनुपर्ने बताउँछन्।
हस्तकला एक प्रकारको घरेलु उद्योग पनि भएकाले लगानशीलता, उपभोगको ज्ञान, बजारको माग अनुसारको उत्पादन, राज्यका नियम कानुनको ज्ञान, गुणस्तरीय उत्पादन र उचित मूल्य निर्धारण गर्न सके व्यावसाय धान्न सकिने उनको अनुभव छ। भारतबाट फर्किएर ‘एसजी इन्टरनेशनल’ र भोले बाबा हस्तकला उद्योग सञ्चालन गरिरहेका श्याम तिमिल्सिनाले आफूहरूले अरूले गरेकैभरमा काम सिकेको र त्यहाँ सिकेको ज्ञान नेपालमा अरूलाई बाँडेको र यस व्यवसयाबाट आफूहरू सन्तोषजनक स्थितिमा रहेको बताएका छन्। हाल कल्याणी एक्सर्पाेट र इम्पोर्ट तथा नीरञ्जना हस्तकला सञ्चालन गरिरहेका सिसाको हस्तकलाका पहिलो कालीगढ राजेश तिमिल्सिनाले स्वरोजगारमूलक पेशाका रूपमा यसलाई अपनाइरहेको बताए।
सिसाको हस्तकला सिकेर अन्य व्यवसायीकमा पहिलो रोजगारकर्ता दिनेश ढकाल पनि अहिले आफै व्यवसायी बनिसकेका छन्। उनले ‘लस भेगास एक्सपर्ट एण्ड इम्पोर्ट’ सञ्चालन गर्दै आएका छन्। उनका अनुसार अङ्ग्रेजी महिनाको फेब्रुअरी, मार्च, अप्रिल र मे महिनामा विदेशबाट यस कलाका उत्पादनको बढी माग हुने गरेको छ। उनले यस पेशामा अन्य पेशामाजस्तो अस्वस्थ प्रतिस्पर्धा नभएको पनि बताए।
नेपाल सरकारको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षका प्रथम छ महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.९ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब १८ अर्ब १९ करोड पुगेको छ।