रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

रुपन्देही - रुपन्देही २ मा  सत्ता गठबन्धन दलका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले समर्थन खोजेका छन्। शनिवार बुटवलका पत्रकार सम्मेलन गरी पौडेलले आफूसँग सहकार्य गरेर जानको लागि गठबन्धन दलहरूभित्र आन्तरिक रूपमा पनि छलफल चलिरहेको बताए। 

मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह रहेको पौडेलले राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेको भन्दै आफूले अगाडि बढेको जनाए। उनले देशभर युवाहरूमा जागरूकता आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरूलाई अगाडि सारेको बताए।

लामो अस्थिर राजनीति र वृद्ध नेतृत्वहरूबाट स्थिरता सम्भव नभएको भन्दै मुलुकमा राजनीतिक स्थिरता र नयाँ सोचअनुसार अगाडि बढ्न युवा नेतृत्व र सहभागिताको आवश्यकता रहेको बताए। प्रदेशसभा खारेजी, निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, धर्म, संस्कृति र इतिहासको संरक्षण, भ्रष्टाचारीलाई कारबाही, स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण उनका एजेण्डा छन्। 

लुम्बिनी क्षेत्रलाई शान्तिको राजधानी घोषणा गराई विश्वभरका पर्यटकलाई भित्र्याउने, बुटवलको सडक र खानेपानी समस्या समाधान गर्ने, व्यापारी,कृषक, विद्यार्थी तथा युवाहरूसँग हातेमालो गर्ने युवाहरूलाई रोजगारीको अवसर सिर्जना र कृषि औद्योगीकरण गर्ने,रुपन्देहीलाई मौलिकतासहितको अन्तर्राष्ट्रिय स्तरको सहरको रूपमा विकास गर्ने उनले आफ्ना एजेण्डा सुनाए।

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव जित्दै आएका छन्। आगामी निर्वाचनमा उनी मुख्य दाबेदारका रूपमा रहेका छन्। गुरुङको उम्मेदवारी खारेज र चर्चामा रहेका लौरो चिन्हका कमल भुसाल ‘निकोलस’को उम्मेदवारी पनि विचाराधीन रहेको अवस्थामा आफू पनि मुख्य प्रतिस्पर्धी रहेको पौडेलको दाबी छ।

पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार लक्ष्मी खासु मगर , पार्टीका लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष सालिकराम घिमिरे, प्रदेश कमिटी सदस्य लक्ष्मण खड्का, निर्वाचन परिचालन कमिटी सदस्य पोषण पाण्डे, प्रदेश सदस्य अच्युत कँडेलले युवाबाट परिवर्तन हुने बताए।

रुपन्देही  २ मा गठबन्धनले सहयोग  गर्ने वातावरण बन्दै गएको उनीहरुको भनाइ छ। राजुको उम्मेदवारी खारेजपछि गठबन्धन दलहरू कसलाई उम्मेदवार बनाउने भन्नेमा आन्तरिक छलफलमा रहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×