काठमाडौँ - खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो। यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो। नेपालमा अहिले वार्षिक करीब ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। तर, सरकारले ४ लाख टन पनि उपलब्ध गराउन सकेको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने मन्त्रालयले हालसम्म वर्षमा अधिकतम ३ लाख ९४ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल उपलब्ध गराउन सकेको छैन। मन्त्रालयका अनुसार पछिल्लो ११ वर्षमा सरकारले आर्थिक वर्ष (आव) २०७७/७८ मा हालसम्मकै सबैभन्दा बढी ३ लाख ९४ हजार मेट्रिक टन मल उपलब्ध गराएको थियो। अहिलेको अवस्थामा उपलब्ध भइरहेको मलले हाम्रो आवश्यकता धान्न नसकेको निष्कर्षसहित मन्त्रालयले करिब ५ लाख २० हजार टन मल भित्र्याउने लक्ष्य राखेको छ।
आर्थिक अभियान दैनिकबाट