मकवानपुर गोल्डकपः सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब

मकवानपुर - विभागीय भिडन्तमा नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आर्मीले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्दा आर्मीले सफलता हात पारेको हो। साविक विजेता समेत रहेको आर्मीले एपिएफलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो।

टाइब्रेकरको क्रममा एपिएफको अन्तिम प्रहारलाई आर्मीका गोलरक्षक कुथुले उत्कृष्ट रुपमा बचाउ गरेका थिए। टाइब्रेकरमा आर्मीका तर्फबाट दीपक गुरुङ, सीमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गरेका थिए। 

टाइब्रेकरमा एक पेनाल्टी बचाएका आर्मीका गोलरक्षक कुथु म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे। यसअघि भएको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। 

त्यसअघि मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दिनेश हेन्जनको पेनाल्टी गोलबाट आर्मीले अग्रता लिन सफल भएको थियो। इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा सुदिप सिख्राकारले एपिएफका लागि गोल गर्दै खेललाई रोमाञ्चक मोडमा ल्याएका थिए।

त्यसअघि पहिलो हाफमै आर्मीले पेनाल्टीमार्फत अग्रता लिने अवसर खेर फालेको थियो। विवेक बस्नेतको पेनाल्टी प्रहारलाई गोलरक्षक राजु नगरकोटीले बचाएका थिए। 

जारी प्रतियोगितामा मंगलबार मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबको बीचमा खेल हुनेछ। यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×