काठमाडौँ - सोमबार बिहान नेपाल-भारत सिमानास्थित दशगजा क्षेत्रबाट पूर्वसशस्त्र प्रहरी जवान ३४ वर्षीय अमरेशकुमार सिंहको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। बारा जिल्लाको पचरौता नगरपालिका-१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले सिंहको शव देखेर प्रहरीलाई खबर गरेका थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा गई शव बरामद गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरीले जानकारी दिएका छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ । मृतक सिंह पूर्वप्रहरीसमेत हुन् । उनी सशस्त्र प्रहरी बलमा पाँच वर्षमात्र कार्यरत रहेका थिए । केही महिनाअगाडि मात्रै उनले जागिर छोडेका थिए ।
अनुसन्धानका क्रममा सिंहको हत्यामा तीनजनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको छ। सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकामा आज दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँपल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ ।