काठमाडौँ - लिभरपुलले बर्नमाउथलाई ९-० को विशाल अन्तरले हराएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा लिभरपुलले एकतर्फी जित निकालेको हो।
लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २-२ तथा इलियोट, आर्नोल्ड, डाइक र कार्भाल्होले १-१ गोल गरेका थिए। लिभरपुलले १ गोल उपहार पाएको थियो। खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाए। छैठौं मिनेटमा इलियोटले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए।
खेलको २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दै टिमको अग्रता ३-० को बनाएका थिए। ३१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै टिमको अग्रता ४-० को बनाए। खेलको ४५ औं मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ५-० ले अघि रह्यो। दोस्रो हाफको सुरूमै क्रिसले आत्मघाती गोल गरेपछि लिभरपुल ६-० ले अघि रहेको थियो।
६२ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुललाई ७-० को अग्रता दिलाएका थिए। खेलको ८१ औं मिनेटमा कार्भाल्होले गोल गर्दा लिभरपुल ८-० ले अघि रह्यो। त्यसपछि खेलको ८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९-० को सानदार जित दिलाएका थिए।
यो जितसँगै लिभरपुलले लिगमा पहिलो जित निकालेको छ। यसअघि २ पटक बराबरी खेलेको लिभरपुल ४ खेलबाट ५ अंकसहित आठौं स्थानमा रहेको छ। बर्नमाउथ १६ औँ स्थानमा रहेको छ।