वर्षा हुँदा पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

पाँचथर - तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ। भत्किएको जमिनको बाँकी भाग व्यस्त सडकको माथिपट्टि रहँदा सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो। 

राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ। पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो। निरन्तर वर्षा हुँदा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको सवारी चालकहरूले बताएका छन्। शुक्रबारमात्रै लेदोसहित ढुङ्गा–माटो सडकमा खस्दा मेची राजमार्ग केही समय अवरुद्ध भएको थियो।

पानी पर्नेबित्तिकै लेदोसहित साना–तिना ढुङ्गा र माटो सडकमा खस्ने गरेको छ। तीन वर्षअघि साउन पहिलो साता पहिरो झरेपछि भत्किएको सडकमा अहिले ठुल्ठूला खाल्डा परेका छन्। भत्किएको सडकमा सुस्तरी सवारी चलाउनुपर्ने यहाँ माथिबाट ढुङ्गा–माटो खस्ने क्रमले जोखिम बढाएको हो। भत्किएको जमिनको सबै भाग पहिरो बनेर नखस्ने र जोखिमसमेत उत्तिकै हुने भएपछि सडक डिभिजन कार्यालय इलामले सडकको भित्तामा जालीसहितको पर्खाल लगाएको थियो। तर क्रमशः पहिरो झर्ने क्रमले पर्खाल छिचोलेर सडकसम्म ढुङ्गा–माटो खस्दा यो सडकखण्ड जोखिमपूर्ण बनेको हो।

शुक्रबार सडक अवरुद्ध बनेका समय उक्त स्थान पुग्नुभएका स्थानीयवासीसमेत रहेका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले उक्त खण्ड पानी परेका समयमा जोखिमपूर्ण बन्ने गरेको बताए। सबै यात्रुले ध्यान पु¥याएरमात्रै यात्रा गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।  पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यान दिँदै सडक डिभिजन कार्यालय इलामले एउटा स्काभेटर उक्त स्थानमा तैनाथ अवस्थामा राखेको छ।

तीन वर्षअघि ठूलो पहिरो झरेर लामो समयसम्म सडक अवरुद्ध बनेपछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाबाट फाल्गुनन्द–४ राँके बजारसम्म वैकल्पिक मार्ग निर्माण थालिएको थियो। गुम्बाडाँडाबाट निबुखोला हुँदै राँके जोड्ने उक्त मोटरबाटोको ट्र्याक खोल्ने कार्य पूरा भएपछि बजेट अभावका कारण काम रोकिएको छ।

मेची राजमार्ग अवरुद्ध बनेको समयमा बजेटको प्रबन्ध गरी ट्र्याक खोल्न थालिएता पनि राजमार्ग सञ्चालन भएपछि वैकल्पिक मार्गको स्तरोन्नतिकार्यलाई सरोकारवालाले भुलेको स्थानीयवासीको गुनासो छ। वैकल्पिक मार्गमा सवारी सञ्चालन सम्भव नभएपछि साना तथा ठूला सवारीका साधन जोखिम मोलेर मेची राजमार्गबाटै सञ्चालन भइरहेका छन्।
मेची राममार्गको यस खण्डमा विगतमा पहिराको ठूलो समस्या थिएन। तर राजमार्गकै मर्मतका लागि भन्दै पाङ्ग्रेभिरमा स्काभेटर प्रयोग गरी सडकको भित्ताबाट ढुङ्गा निकालिएको थियो। सडकको भित्तामा रहेका स–साना ढुङ्गा उत्खनन गर्ने भन्दै भित्तामा रहेको पहरो भत्काइएपछि सडकभन्दा माथि रहेको जमिनको ठूलो भाग लच्किएर भत्किइ पहिरो गएको थियो।

निर्माण व्यवसायीले यहाँबाट ढुङ्गा उत्खनन गरी आफ्नो निजी व्यवसायमा प्रयोग गरे पनि सरकारी निकायले कुनै कारबाही गरेन। अवैधरूपमा राजमार्गको भित्ताबाट ढुङ्गा उत्खनन गरिएको विषयमा निर्माण व्यवसायीलाई कारबाही गर्नुको सट्टा तत्कालीन जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको नेतृत्व एकअर्काको क्षेत्राधिकारको विषय भएको भन्दै पन्छिएपछि निर्माण व्यवसायीले उन्मुक्ति पाएका थिए।

मेची राजमार्गको यस खण्डका लागि ‘सधैँको समस्या’का रुपमा पाङ्ग्रेभिरको पहिरो देखिए पनि सरोकारवाला निकायले वैकल्पिक मार्ग तयार पार्न तदारुकता नदेखाएको स्थानीयवासीको गुनासो छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×