प्रतिबन्ध हट्दै जाँदा विदेश जानेको ताँती बढ्दो

काठमाडौँ - एकपछि अर्को कठिनाइ आइपरे पनि विदेश जानेको लर्को कायमै छ। 

कोरोना भाइरसको सन्त्रास हट्दै गएको र विदेशमा पनि कोरोनाकै कारण लागेका प्रतिबन्ध हट्दै गएका कारण नेपालीहरू धमाधम खाडी मुलुकमा रोजगारीका लागि गइरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म नै दुई लाख ३० हजार ४११ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन्। तीमध्ये ९९ हजार ५८० जना त पुनः श्रमस्वीकृति लिएर जाने मात्रै छन्। नेपालीहरू धेरैजसो मलेसियालगायत खाडी मुलुक संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत, साउदी अरेबिया, ओमानलगायत देशमा वैदेशिक रोजगारीका लागि गइरहेका छन्। 

विदेशमा काम गर्न जानेमध्ये अदक्ष धेरै रहेको मन्त्रालयले जनाएको छ। तथ्याङ्कानुसार, ७५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र एक प्रतिशतमात्र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन्। कोरोनाकै बीच पनि हजारौँ नेपाली युवा बिदेसिएको सरकारी तथ्याङ्क छ। वैदेशिक रोजगारीका समस्या तथा त्यहाँ पाइने हण्डर र ज्यानैसमेत गुमाएका खबर नेपाली मिडियामा सार्वजनिक भइरहेक पनि किन वैदेशिक रोजगारीप्रति यत्रो आकर्षण भन्ने जिज्ञासामा सुरक्षित वैदेशिक रोजगारी परियोजना नुवाकोट र धादिङका प्रमुख कमल रोकाय भन्छन्, “मुलुकभित्रको राजनीतिक अस्थिरता र रोजगारीको अभावका कारण यस्तो भएको हो।”

नेपाल राष्ट्र बैंकको २०२० को तथ्याङ्कानुसार विदेशमा काम गरेर नेपालमा पैसा पठाउनेहरूको कुल गार्हस्थ उत्पादनमा २७.९५ प्रतिशत योगदान छ। नेपालका ५६ प्रतिशत घरपरिवार कोही न कोही वैदेशिक रोजगारीमा छन्। पछिल्लो दश वर्षमा गरिबीको रेखामुनि रहेका ४२ प्रतिशत नागरिक अहिले २५ प्रतिशतमा झरेर गरिबीबाट माथि उठाउन पनि वैदेशिक रोजगारीले भूमिका खेलेको छ। वैदेशिक रोजगारीबाट हुने आम्दानीको चमक राम्रो देखिए पनि यसभित्र लुकेका पीडा नेपालका धेरै परिवारले भोगिरहेका छन्। सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्नेभन्दा पनि युवालाई विदेश पठाएर विप्रेषणकै भरमा देशको अर्थतन्त्र चलाउने विचार राखेको दैनिक विदेश जानेको लर्कोबाट पुष्टि हुन्छ। 

वैदेशिक रोजगारीबाट लैङ्गिकरूपमा पनि महिला नै बढी पीडित हुन पुगेका घटना पनि देखिएको छ। विदेशमा कमाउन गएका श्रीमान् दुर्घटनालगायत विभिन्न कारणले ज्यान जाँदा, घाइते अङ्गभङ्ग हुँदा तथा कारागार पर्दा यता श्रीमती सकस भोग्न बाध्य हुन्छिन्। विदेशमा काम गर्न गएका महिलाका यता रहेका श्रीमान्ले अर्को विवाह गर्दा पनि महिला नै पीडित हुनुपरेको घटना हुन देखिन थालेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रमका जिल्ला संयोजक नीरू परियार बताउँछिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×