गजामा इसराइली हमलाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

गजामा इसराइलले जारी राखिरहेको आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७० हजार नाघेको गाजाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार हालसम्म मृतक सङ्ख्या ७० हजार १०० पुगेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इसराइली हवाई हमलापछि ध्वस्त भएका भवनका भग्नावशेषबाट तीन दिनमै ३०० भन्दा बढी शव बाहिर निकालिएका छन्। भग्नावशेषभित्र अझै धेरै शव फेला पर्न सक्ने अनुमान गरिएको छ।

युद्धविराम घोषणा भएको भए पनि इसराइलले विभिन्न आरोप लगाउँदै गजामा छिटपुट हमला गरिरहेको छ। हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको तथा नियन्त्रण क्षेत्रमा इसराइली सैनिकमाथि आक्रमण भएको आरोप लगाउँदै इसराइली सेनाले गजाका विभिन्न स्थानमा आक्रमण पुनः सञ्चालन गरेको थियो।

गजामा दुई वर्षदेखि जारी युद्धमा भएको मानव–नोक्सानीबारे इसराइलले आधिकारिक प्रतिक्रिया दिएको छैन। उसले गाजाबाट आउने मृतक विवरणको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएको छ, तर आफ्नै अनुमान सार्वजनिक गरेको छैन।

सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी १,२०० जनाको हत्या र २५१ जनालाई अपहरण गरेपछि सुरु भएको द्वन्द्वले गाजाको ठूलो भू–भाग पूर्ण रूपमा ध्वस्त बनाएको छ।

अक्टोबर १० देखि लागू भएको कमजोर युद्धविरामपछि भग्नावशेषको खोजी कार्य बढेपछि मृत्यु संख्या तीव्र रूपमा बढेको अधिकारीहरूले जनाएका छन्।

केन्द्रीय गजाको बुरेज शरणार्थी शिविर नजिकै भएको हवाई आक्रमणमा एकै परिवारका ६२ सदस्यले ज्यान गुमाएको पीडित मोआज म्घारीले रोयटर्सलाई बताएका छन्। विस्फोटपछि घर फर्कँदा आफ्नो परिवार बस्ने भवन पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको उनले बताए।

यसैबीच, इसराइली सेनाले भने आफूहरूले सर्वसाधारणलाई लक्ष्य नगर्ने दाबी दोहोर्‍याउँदै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×