काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताएका छन्।
ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तक्रियामा उनले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गरे। “यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भने, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताए।
शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ। मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए। शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ छ।
मन्त्री पौडेलले शिक्षक महासङ्घका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदैआएको बताउनुभयो । विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ।