काठमाडौँ - म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा घरेलु टोली न्युकासल युनाइटेडसँग ३-३ को बराबरीमा रोकिए पनि टोलीले आफुलाई प्रमाणित गरेको बताएका छन्।
सेन्ट जेम्स पार्कमा सिटीका लागि इल्के गुनडागन, इर्लिङ हालान्ड र बेर्नार्डोे सिल्भाले गोल गर्दा घरेलु टोलीका लागि मिगुएल अल्मिरोन,कलुम विल्सनर केइरन ट्रिपियरले गोल गरेका थिए।
गुन्डागनको गोलमार्फत सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो। त्यसपछि अल्मिरोना, विल्सन र ट्रिपियरले गोल गर्दै घरेलु टोलीलाई ३-१ ले अगाडी बढाएका थिए। २ गोलले पछि परेको अवस्थामा हालान्ड र सिल्भाले गोल गरेपछि सिटी सिजनको पहिलो हार व्यहोर्नबाट जोगिएको थियो। यसअघि सिटीले वेस्टह्यामलाई २-० ले बर्नमाउथलाई ४-० ले पराजित गरेको थियो।
'टोलीले आज आफ्नो क्षमता प्रमाणित गरेको छ',ग्वार्डिओलाले भने,'हामीले राम्रो सुरुवात गरेका हौ तर पनि टोलीले आफ्नो लय गुमायो। दोस्रो हाफमा टोलीले आफ्नो लय समात्दै हार टार्न सफल भयो।' 'हामी २ गोलले पछि परिसकेका थियौ, जसले हाम्रो जितको सम्भावना न्युन बनाइसकेको थियो,।'
ग्वार्डिओलाले थपे,'न्युकासल पछिल्लो दिनमा कठिन प्रतिद्धन्द्धी बन्दै आइरहेको छ। लिड्सले पनि चेल्सीमाथि सहज जित निकाल्यो। यसले प्रिमियर लिगमा कुनै पनि प्रतिद्वन्द्वी सहज छैनन् भन्ने पुष्टि गरेको छ। हामीले पछिल्लो ५ वर्ष स्वभाविक लय कायम राख्दै आइरहेका छौ। जसले हाम्रो उत्कृष्ट लयलाई थप प्रमाणित गर्छ।'