काठमाडौँ - अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन्। न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो।
पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई. जेन क्यारोलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको र आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाएकी थिइन्।
ट्रम्पले आफूलाई झुटो प्रमाणित गर्न खोजेको र त्यसबाट आफ्नो निकै बदनामी भएको आरोप पनि उनले लगाएकी थिइन्। न्यायालयले उक्त घटनामा ट्रम्पलाई दोषी ठहर गर्दै उनले क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला पनि सुनाएको छ।
यद्यपि, अदालतले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रूपमा क्यारोललाई बलात्कार गरेको घटनामा भने ट्रम्प दोषी नदेखिएको फैसला सुनाएको छ। किनभने यो मुद्दा फौजदारी (क्रिमिनल) कोर्टमा नभई सिभिल कोर्टमा चलेको थियो।
यो मुद्दा मेनहटनको सङ्घीय अदालतमा करिब दुई सातासम्म चलेको थियो। मुद्दाको सुनुवाइमा भने ट्रम्प उपस्थित थिएनन्। उनले सुरुदेखि नै आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका थिए। ६ जना पुरुष र ३ जना महिलासहितको जुरीले मंगलबार करिब तीन घन्टासम्म छलफल गरेर ट्रम्पको विपक्षमा फैसला सुनाएको हो।
न्यायालयले आफुविरुद्ध फैसला सुनाएपछि ट्रम्पले अदालतको फैसलाबाट आफ्नो अपमान भएको प्रतिक्रिया दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै क्यारोलको विषयमा पनि आफूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन्।
‘यी महिला को हुन् भन्ने विषयमा समेत मलाई कुनै जानकारी छैन। यस्तो अवस्थामा अदालतको फैसलाबाट मेरो अपमान भएको छ,’ ७६ वर्षीयले भनेका छन्। ट्रम्पका एक प्रवक्ताले भने अदालतको उक्त निर्णयको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन्।
अदालतको फैसलापछि क्यारोलले सत्यको जित भएको प्रतिक्रिया दिएकी छन्। ‘आज सारा विश्वले सत्य के हो भन्ने कुरा थाहा पाएको छ,’ ७९ वर्षीया क्यारोलले आफ्नो लिखित वक्तव्यमा भनेकी छन्, ‘यो मेरोमात्र जित होइन। यो ति सबै महिलाको जित हो, जो पीडित भएका छन् र जसको आवाज कसैले सुनिरहेको छैन।’