काठमाडौँ - साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका व्रतालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेका छन्।
तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका व्रतालु बुधबार राति तीनदिने कार्यक्रम सम्पन्न गरी साँखु आएपछि आज बिहान शालिनदीमै स्नान गरी माधवनारायणको पूजाको तयारीमा लागेका छन्। बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी व्रतालुले पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए।
माघ शुक्ल तृतीयाका दिन माघ २१ गते शुक्रबार व्रतालु दोस्रो चरणको तीर्थ यात्राका लागि पनौती जाने कार्यक्रम रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए। माघ २१ गते व्रतालुको बास पनौतीमै हुनेछ। व्रतालुले माघ २२ गते शनिबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान गरी इन्द्रेश्वरलगायत पनौती क्षेत्रका मन्दिरमा पूजा आराधना गर्ने कार्यक्रम छ।
पनौतीमा यस वर्ष १२ वर्षे मेला पनि चलिरहेकाले विशेष पूजा आराधना हुने जनाइएको छ। माघ २२ गते दिउँसोको भोजन बनेपामा गरी व्रतालु साँखु फर्कनेछन्। पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ। तेस्रो चरणको तीर्थयात्राका लागि व्रतालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन्। द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ। चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ।
माधवनारायणका व्रतालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन्। यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ। माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन्।
माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ।