काठमाडौँ - अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ। गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ।
आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको छ। गत आवको सोही अवधिको तुलनामा यो एक अर्ब ७८ करोड रुपैयाँले मात्र न्यून हो। २०७९ जेठसम्म चार खर्ब १० अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
ब्याज करमा भएको वृद्धिका कारण आन्तरिक राजस्व सङ्कलनमा सुधार आएको विभागको तथ्याङ्कले देखाउँछ। एक वर्षको अन्तरमा ब्याज करमा आठ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिन्छ। २०७९ जेठसम्म २३ अर्ब ३७ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएकामा चालु आर्वको सोही महिनासम्म ३१ अर्ब ४४ करोड रुपैयाँ ब्याज कर सङ्कलन भएको विभागले जनाएको छ।
विभागका अनुसार आयकर भने गत आवको तुलनामा घटेको छ। गत जेठसम्म एक खर्ब ८२ अर्ब २३ करोड रुपैयाँ आयकर सङ्कलन भएकामा चालु आवमा भने एक खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ।
गोरखापत्र दैनिकबाट