काठमाडौँ - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ। देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए। प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म दरखास्त संकलन गरेको थियो। दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन्।
म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन्। असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ। काठमाडौं उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन्।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मधेश प्रदेशमा सबैभन्दा धेरै आवेदन परेको छ। मधेश प्रदेशमा ६६ हजार ८८४ आवेदन संकलन गरिएका डीआईजी राईले जानकारी दिए। खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन्। सो अवधिमा उनीहरुले तलव र रासन बापत ४१ हजार ९६० रुपैयाँ पाउँछन्।
म्यादी प्रहरीले गाडी भाडा बापत १ हजार रुपैयाँ भत्ता स्वरुप पाउँछन्। निर्वाचन क्षेत्रमा आउन र जाने खर्चका लागि अर्थ मन्त्रालयले १ हजार भत्ता दिने निर्णय गरेको छ। तलब बापत म्यादी प्रहरीले ४० दिनमा ३४ हजार ७६० रुपैयाँ पाउँछन्। हिमाली जिल्लामा रासन सुविधा त्यहीँको दररेट अनुसार पाउनेछन्। रासन बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएको डीआईजी राईले जानकारी दिए। कपडा किन्न म्यादी प्रहरीले ६ हजार रुपैयाँ पाउँछन्। म्यादीले ६ हजार भित्रबाट दुई जोर डांग्री, जुत्ता, दुई जोर मोजा, टोपी र सिट्टी कर्ड किन्नुपर्छ।