काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी ६१ वटा जिल्ला अधिवेशनबाट २६ वटा जिल्लामा अध्यक्ष चयन भएको छ ।
२६ जिल्लाका अध्यक्ष चयन हुँदा दुई जिल्ला अध्यक्ष मतदानबाट निर्वाचित भएका छन् । अन्य २४ जना जिल्ला अध्यक्ष भने सर्वसम्मत भएका हुन् । कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ ।
एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानल गत प्रतिस्पर्धा हुँदैछ । रामेछाप, जुम्ला र भोजपुरमा सहमतिनजिक रहेपनि औपचारिक घोषणा हुन बाँकी छ । रामेछापमा आनन्द श्रेष्ठ, भोजपुरमा शरण राई र जुम्लामा शान्त महतको नाममा लगभग सहमति जुटेको नेताहरूले बताएका छन् ।