सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। एक समय चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी ‘ब्लू चिप’ का रूपमा चिनिँदै आए पनि अहिले नयाँ हाइड्रोपावर कम्पनीहरू पनि सोही बाटोमा अघि बढ्न सक्ने सम्भावना देखिन थालेको छ।

हाल नेप्सेमा ९७ वटा जलविद्युत कम्पनी सूचीकृत छन्। तीमध्ये सानिमामाइ हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल र साहास ऊर्जा लिमिटेड लगानीकर्ताको विशेष ध्यानमा परेका छन्। निरन्तर नाफा, नियमित लाभांश, एकभन्दा बढी आयोजना सञ्चालन तथा सुदृढ वित्तीय अवस्था भएका कम्पनी भविष्यका ‘ब्लू चिप’ बन्न सक्ने सेयर बजारका जानकारहरूको भनाइ छ।

सानिमामाइ हाइड्रोपावरको सेयर मूल्य हाल करिब ५१८ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीले विगत पाँच वर्षमा औसत १० प्रतिशतभन्दा बढी लाभांश दिएको भए पनि बाढीका कारण केही आयोजनामा क्षति पुग्दा हाल नाफा घटेको छ। यद्यपि कम्पनीका बहुआयामी आयोजना र दीर्घकालीन लगानी योजनाले भविष्यमा पुनः सबल बन्न सक्ने संकेत देखिन्छ।

माउन्टेन इनर्जी नेपालको सेयर मूल्य करिब ५६२ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीले पछिल्ला चार वर्षमा औसत १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा उल्लेखनीय रूपमा बढेको छ भने विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ। स्थिर आम्दानी र बलियो लाभांश इतिहासले यसलाई सम्भावित ‘ब्लू चिप’ कम्पनीको रूपमा हेरिएको छ।

साहास ऊर्जा लिमिटेडको सेयर मूल्य करिब ५४१ रुपैयाँ छ। कम्पनीले दुई वर्षयता आकर्षक लाभांश वितरण गर्दै आएको छ। चालु वर्षको पहिलो त्रैमासमा नाफा बढेको छ भने ठूलो क्षमताको सोलु खोला जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। थप ठूला आयोजनामा लगानी योजना रहेकाले दीर्घकालीन रूपमा यसको सम्भावना बलियो देखिएको छ।

विश्लेषकहरूका अनुसार नियमित लाभांश, परियोजनाको विविधता र स्थिर आम्दानी कायम राख्न सके यी तीनै हाइड्रोपावर कम्पनी भविष्यमा नेपाली सेयर बजारका ‘ब्लू चिप’ कम्पनीका रूपमा स्थापित हुन सक्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×