माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत; शीर्ष राजनीतिक दललाई आमन्त्रण

काठमाडौँ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको नेकपा(माओवादी केन्द्र)ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटनसत्रमा आमन्त्रण गरेको छ।

आज आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजना हुुने उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ। झापामा रहनुभएका एमाले अध्यक्ष ओलीले आफू सकेसम्म उद्घाटन सत्रमा सहभागी हुने नसके महासचिव शङ्कर पोखरेलले सहभागिता जनाउने जानकारी दिएका छन्।

उद्घाटनसत्रमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष ओलीलाई टेलिफोन गरेर आग्रह गरेका हुन्।  फोनमा एमाले अध्यक्ष ओलीले आफू झापामा रहेको भन्दै सकेसम्म आफू नै आउने र सम्भव नभए महासचिव पोखरेल सहभागी हुने जानकारी गराएका छन्। उद्घाटनसत्रमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि आमन्त्रण गरिएको छ। त्यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रूपमा बोलाइएको प्रवक्ता महराले जानकारी दिए।

यसअघि राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने निर्णय भएकामा त्यसलाई महाधिवेशनमा रुपान्तरण गरिएकाले अतिथि बोलाइएको माओवादीको भनाइ छ। महाधिवेशनमा रुपान्तरण गरिएकाले १ बजेका लागि पूर्वनिर्धारित उद्घाटन समारोह ३ बजे आयोजना गरिने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×