काठमाडौं । देशका प्रमुख राजनीतिक दलहरुको ध्यान अहिले राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएको छ ।
राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि हुने निर्वाचनमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने उनले बताए । आईतबार नै बस्ने भनिएको गठबन्धनको बैठक माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बिहानका लागि सारिएको हो ।
आगामी फागुनदेखि राष्ट्रिय सभाका २० सांसदको चार वर्षे कार्यकाल सकिदैछ । एमालेबाट ८, माओवादी केन्द्रबाट ४, नेकपा एकीकृत समाजवादीबाट ४, काँग्रेसबाट ३ र मनोनित १ जना सांसद बिदा हुने क्रममा छन् । राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भैसकेको छ ।
सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् । प्रतिपक्षी नेकपा एमाले भने एक्लै चुनावमा जानुपर्ने अवस्था रहेको छ । पाँच दलीय गठबन्धनका सामू प्रतिपक्षी एमाले निरीह देखिएको छ । उसलाई पहिलेका ८ वटा सिट जोगाउन निकै ठूलो चुनौती पर्ने देखिएको छ ।