काठमाडौँ । एमाले नेता सुवास नेम्वाङले दशौं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्।
आज मंगलबार पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले आफूलाई सो पदका लागि साथीहरूबाट सल्लाह आइरहेको उल्लेख गर्दै भने, 'म अहिलेसम्म केपी ओलीलाई अध्यक्ष राखेर सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा छु। तर, कथमकदाचित निर्वाचन हुने भयो भने मैले साथीहरूसँग सल्लाह गरेर उम्मेदवारी घोषणा गर्छु। तर, मलाई अहिलेसम्म सल्लाह दिने साथीहरूलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुपर्छ भनेका छन्।'
यसअघि, वरिष्ठ नेताको रूपमा ईश्वर पोखरेलाई चर्चा गरिएको थियो। ओलीले उनलाई 'ग्रिन सिग्नल' दिइसकेकाले उनी नै वरिष्ठ उपाध्यक्ष हुने एमालेकै नेताहरूले बताउने गरेका थिए। तर, नेम्वाङको तयारीले उनलाई धक्का लाग्ने देखिएको छ। एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने भनेर नेताहरूले बताउने गरेको भए पनि उम्मेदवारी घोषणा बढ्दै जाँदा त्यो सम्भावना पनि टर्दै गएको छ।
महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ।