नवौँ राष्ट्रिय खेलकुद: हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो

पोखरा - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ।

हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिएका छन्।

गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो। उनले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहेको गुनासो गरेका छन्। समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको उल्लेख गर्दै खड्काले स्थानीय निकाय, खेल व्यवस्थापकलगायत सम्बन्धित निकायबीच समन्वय नभएको बताएका छन्।

भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकाले चुनौतीका बाबजुद पनि कास्कीमै गराउन लागेको खड्काको भनाइ छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक पूर्वाधार निर्माण गर्दा कुनै कुनै प्रतियोगिता अभाव र चुनौतीका बाबजुद सञ्चालन गर्न लागिएको स्वीकार गरेका छन्। हक्कीमा पुरुषतर्फ ९ तथा महिलातर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दै छन्।

नवौँ राष्ट्रिय प्रतियोगिताको यही असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल भने सुरु भइसकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×