काठमाडाैँ - युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–२० क्रिकेट नेपाली राष्ट्रिय महिला टोलीले जितेको छ। नेपालले आज युगाण्डालाई ३३ रनले हराएकाे हाे।
नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनायाे। युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन्। बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरान्मायी रोयले एक/एक विकेट गिराए।
यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो। नेपालको लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रन बनाइन्। युगाण्डाले यसअघि नै श्रृंखला जितेको छ। युगाण्डाले पहिलो, दोस्रो र तेस्रो खेल जितेको थियो। नेपालले हिजो भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराएको थियो।