भारतद्वारा जिम्बाब्वे ५ विकेटले पराजित

काठमाडौँ - सञ्जु सैमसनको अविजित ४३ रन र शार्दुल ठाकुरको ३ विकेटको मद्दतमा भारतले दोस्रो एकदिवसीय खेलमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा २-० को निर्णायक अग्रता लिएको छ।

टस जितेर भारतले जिम्बावेलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। खेलको ९ औं ओभरमा मोहम्मद सिराजले जिम्बावेलाई पहिलो झटका दिएका थिए। २० रनमा पहिलो विकेट खसेपछि जिम्बावेको इनिङ्स टिक्न सकेन। ३१ रन बन्ने क्रममा टोलीका ४ खेलाडी पभिलियन फर्किएका थिए भने पूरा टोली ३८.१ ओभरमा १६१ रन बनाएर आउट भएको थियो।

खेलमा सिराजले ८ ओभरमा १६ रन दिएर १ विकेट लिएका थिए भने शार्दुल ठाकुरले ३ विकेट लिएका थिए। त्यस्तै प्रसिद्ध कृष्णा, अक्षर पटेल, कुलदीप यादव र दीपक हुड्डाले १-१ विकेट लिएका थिए। जिम्बाब्वेका दुई ब्याट्सम्यान रनआउट भएका थिए।

भारतीय ब्याट्सम्यानले जितको लक्ष्य २६ औं ओभरमा पुरा गरेका थिए। भारतको जितमा शिखर धवनले ३३ रन, शुभमन गिलले ३३ रन, दीपक हुडाले २५ रन र सञ्जु सामसनले अविजित ४३ बनाएका थिए।

यसअघि बिहीबार भएको पहिलो एकदिवसीयमा भारत १० विकेटले विजयी भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×