टेस्ट क्रिकेटबाट बाहिरिने निर्णयले मेरो क्यालेन्डर खाली गरेको छैन: डि कक

काठमाडौँ - क्विन्टन डी ककले टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका छन्। तर, विभिन्न देशका टी-२० लिग खेल्ने निर्णय गरेकाले उनी वर्षभर व्यस्त रहनेछन्। यद्यपि, सबैभन्दा लामो ढाँचा छोड्ने आफ्नो निर्णयमा उनलाई कुनै पछुतो छैन।

घरमा धेरै समय बिताउने इच्छा व्यक्त गर्दै पहिलो पटक बुबा बन्नुभन्दा केही समय अघि डि ककले २०२१ को अन्तमा टेस्ट क्रिकेट छोडेका थिए।

‘यस निर्णयले मेरो क्यालेन्डर खाली गरेको छैन, कम्तिमा यो वर्ष। म केही लिगहरू खेल्न छनोट भएको छु। तर, यो मेरो आफ्नै निर्णय हो,’ डि ककले भने,‘ टेस्ट एक बलिदान हो। तर, म बिस्तारै यस्तो उमेरमा पुग्दैछु, जहाँ म कहाँ खेल्न चाहन्छु भनेर सोच्न आवश्यक छ। जबसम्म म यो गर्न सक्छु म खुसी छु।’ उनले भने।

पितृत्व बिदाबाट फर्केपछि डी ककले जनवरीमा घरेलु मैदानमा भारतविरुद्धको एकदिवसीय सिरिजमा सहभागिता जनाएका थिए। त्यसपछि बंगलादेशको सिरिजअघि उनले २ महिनाको ब्रेक लिए। यो ब्रेकदेखि उनी लगातार क्रिकेट खेलिरहेका छन्। 

उनले यसै बर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) नवप्रवेशी लखनऊ सुपर जायन्ट्सबाट खेले। त्यसपछि दक्षिण अफ्रिका र भारतबीचको टी-२० सिरिजमा भाग लिए। उनि अहिले इङ्ल्यान्डको भ्रमणमा गएका छन्।

टी-२० विश्वकप, क्यारेबियन प्रिमियर लिग (सीपीएल) र द हन्ड्रेड लिग खेलेपछि उनी भारतमा छोटो टी-२० सिरिज खेल्ने छन्।

उनले कुन प्रतियोगितामा भाग लिने भनेर निर्णय गर्न अझ गाह्रो भइरहेको बताएका छन्। त्यसैले धेरै खेलाडीहरूको लागि एक ढाँचा छोड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘क्यालेन्डरमा धेरै खेलहरू भइरहेका छन् जस्तो देखिन्छ। खेलाडीहरूका लागि यो कठिन हुनेछ। खेलाडीहरूले व्यक्तिगत रूपमा निर्णय गर्न आवश्यक छ,’ हामीमध्ये धेरै अझै पनि ५० ओभरको विश्वकप जित्न चाहन्छौं,’ उनले भने।

डी ककले नयाँ खेलाडीहरूलाई तीनवटै ढाँचामा खेल्न आग्रह गरेका छन्। ‘आफ्नो करिअरमा केही चीजहरू हासिल गर्न आवश्यक छ। त्यसैले जवान हुँदा तीनवटै ढाँचा खेल्नु पर्छ। जति उमेर बढ्दै जान्छ यो गाह्रो हुँदै जान्छ र शरीरले पहिलेको जस्तो सहयोग गर्दैन। यो केवल व्यवस्थापनको कुरा हो,’ उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×