काठमाडौँ - एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा इन्डोनेसियाविरुद्ध नेपालले लगातार तेस्रो हारको सामना गरेको छ। समूह ‘ए’ मा रहेको नेपाली टोली तेस्रो हार व्यहोर्ने क्रममा इन्डोनेसियाविरुद्ध ७-० गोल अन्तरले पराजित भएको हो। कुवेतमा मंगलबार राति सम्पन्न भएको खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको हो।
नेपालविरुद्ध इन्डोनेसियाले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ५ गोल थपेको थियो। इन्डोनेसियाका लागि मोहमद मिसजले छैटौं र विटन सुलेमानले ४३ मिनेटमा गोल गरेका थिए।
दोस्रो हाफमा पनि नेपाललाई इन्डोनेसियाले पूरै दबाबमा राख्यो। दोस्रो हाफमा इन्डोनेसियाका लागि अर्यन्तोले ५४ मिनेटमा तेस्रो गोल र सदिल रामदानीले ५५ मिनेटमा चौथो गोल गरेका थिए।
८० मिनेटमा इल्कन बग्गोटले पाँचौं गोल गर्दा ८१ मिनेटमा सुलेमानले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरेका थिए। ९० मिनेटमा फर्डिनालले इन्डोनेसियाका लागि सातौं गोल गरे। यसअघि नेपालले जोर्डनसँग २-० र दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोलको हार व्यहोरेको थियो।
नेपालले यो छनोटको दौरान १३ गोल व्यहोरेको छ भने एक गोल मात्र गर्न सफल भएको छ। खेलबाट ६ अंक जोडेर इन्डोनेसिया एसियन कपमा छनोट भएको छ।