काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते घटेका घटनासम्बन्धी जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिएका छन्। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेर उनले करिब तीन घण्टा लामो बयान दिएका हुन्।
बयान सकिएपछि लेखक आयोगबाट बाहिरिएका छन्। उनले बयानपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।
गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। आयोगले सो घटनाको सत्य–तथ्य पत्ता लगाउन विभिन्न पक्षसँग बयान लिइरहेको छ।
पूर्वगृहमन्त्री लेखकको बयानसँगै आयोगको अनुसन्धान प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।