काठमाडौँ - अब्दुल्लाह सफिकले बनाएको उत्कृष्ट १ सय ६० रनको मदतमा पाकिस्तानले कीर्तिमान ३ सय ४२ रन लक्ष्य पछ्याउँदै श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बुधबार रोमाञ्चक जित निकालेको छ। प्रारम्भिक ब्याटर रहेका सफिकले म्याराथन इनिङ्स खेलेर पाँचौं तथा अन्तिम दिन विजयी रन पनि बटुलेका हुन्।
उनको प्रदर्शनपछि पाकिस्तान ४ विकेटले विजयी भयो। टोली २ खेलको शृंखलामा १-० ले अगाडि रहन सफल भएको छ। बायाँहाते स्पिनर प्रवाथ जयसूर्याले पूरा खेलमा ९ विकेट लिएका थिए। तर, उनको बलबाट त्यो उत्कृष्ट प्रदर्शन काम लागेन। पाहुनाले टिमले गेलको मैदानमा कीर्तिमान लक्ष्य पछ्याएको थियो।
त्यसअघि सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध श्रीलंकाले २ सय २८ रनको लक्ष्य आत्मसात गरेको थियो। तेस्रो विकेटमा कप्तान बाबर आजमसँग १ सय १ रनको साझेदारी गरेका २२ वर्षीय सफिकले आफ्नो दोस्रो शतक पूरा गरेका थिए। बाबरले भने ५५ रन बनाएका थिए। उनले ब्याटिङका लागि कठिन मानिएको पिचमा पहिलो इनिङ्समा १ सय १९ रन जोडेका थिए।
बाबरले खेलपछि भने, ‘हामीलाई स्पिन बलिङविरुद्ध कसरी खेल्ने हो, त्यो ज्ञान थियो, त्यसैले हामीलाई आफूमाथि विश्वास थियो। हामीले सफिकसँग मिलेर साझेदारी अगाडि बढ्ने प्रयास गर्यौं, यसक्रममा उनले आफूलाई उत्कृष्ट ब्याटर रहेको सिद्ध गरे।’
सफिक म्यान अफ द म्याच पनि भए। उनले भने, ‘यो पिचमा ब्याटिङ गर्न सजिलो थिएन। बाबर विश्व क्रिकेटकै उत्कृष्ट खेलाडी हुन्, हामीले उनीबाट धेरै सिकेका छौं।’
उनले १ सय ३५ र १ सय ५१ रनको स्थितिमा जीवनदान पाएका थिए। अन्त्यमा उनी नटआउट रहे।