काठमाडौँ - इंग्लिस क्लब न्यूक्यासल युनाइटेडले स्पेनिस क्लब रियfल सोसिडाडका फरवार्ड एलेक्साण्डर इसाकलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्ध गर्ने तयारी गरेको छ।
स्वीडेनका २२ वर्षीय इसाकका लागि न्यूक्यासलले ६० मिलियन पाउन्ड खर्चने तयारी गरेको हो। न्युक्यासलको सन् २०१९ मा जर्मन क्लब होफेनहाइनबाट ब्राजिली फरवार्ड(मिडफिल्डर जोलिन्टनका लागि ४० मिलियन पाउण्ड खर्चिएको थियो। जुन क्लबले खर्चिएको कीर्तिमानी रकम हो।
क्लबले गत जनवरीमा ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमारेसका लागि ३५ मिलियन र प्लस एड-अनहरू पनि भुक्तान गरेपनि न्यूक्यासलका लागि इसाकको हस्ताक्षर महत्वपूर्ण हुनेछ।
न्यूक्यासलका मालिकले गत अक्टोबरमा क्लबको जिम्मा लिएपछि क्लब ट्रान्सफर बजारमा निकै सक्रिय बनेको छ। इसाकको हस्ताक्षरले यस समरमा म्याट टारगेट, स्वेन बोटम्यान र निक पोपलाई साइन गरिसकेपछि न्यूक्यासलको खर्च दोब्बर हुनेछ।
अक्टोबर २०२१ मा नयाँ मालिकहरूले क्लबको जिम्मा लिएपछि क्लबले खेलाडी अनुबन्धमा २ सय मिलियन पाउन्ड खर्च गरिसकेको छ।
जर्मन क्लब बोरुसिया डर्टमुन्डका पूर्व खेलाडी इसाकले सोसिडाडका लागि १३२ खेलमा ४४ र आफ्नो देशका लागि ३७ खेलमा ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्।