काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ। क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिताका लागि शुक्रबार एक विज्ञप्ति निकाल्दै टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो।
क्यानले जारी गरेको सूचनामा टेन्डर प्रक्रिया जुनसुकै कारण देखाएर संशोधन तथा खारेज गर्न पाउने अधिकार आफूमा निहित रहेको जनाएको छ।
क्यानले आजबाट इच्छुक लागनीकर्तालाई टेन्डरका लागि प्रक्रिया खुल्ला गरेको छ। टेन्डरको मिती जुन १० तारिखसम्म रहेको छ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कर्मसियल र रणनितीक साझेदार रहेको प्रतियोगिताका लागि क्यानले यसअघि ६ टिमका नाम सार्वजनिक गरेको छ।
क्यानले खेलकुदमा राम्रो दखल भएको कम्पनीलाई टेन्डर राख्न आह्वान गरेको छ। गत मंगलबार बसेको बोर्ड बैठकले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको थियो।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराइसकेको छ। जसका लागि टिम मालिकहरुका लागि टेन्डर आह्वान गरेको हो।