श्याम रिमालद्वारा लिखित कवितासङ्ग्रह ‘नदी बग्दैन’ सार्वजनिक

काठमाडौँ - क्रान्तिकारी तथा देशभक्त प्रजातन्त्रवादी राजनीतिज्ञ एवं प्रथम नेपाली गद्यकवि गोपालप्रसाद रिमालको १०५ औँ जन्मजयन्तीका अवसरमा कवि तथा पत्रकार श्याम रिमालद्वारा लिखित कवितासङ्ग्रह ‘नदी बग्दैन’ विमोचन गरिएको छ।

वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमाल, राससका अध्यक्ष हरिहर अधिकारी श्यामल,साहित्यकार युयुत्सु आरडी शर्मा, साहित्यिक पत्रकार प्रवीण जोशी, सञ्चारकर्मी श्याम गोयन्का लगायतले लोकार्पण गरेको कृति जीवन र जगत्, त्रिशूली र तीर्थादि तथा जेन र सुक्ति गरी तीन खण्डमा विभाजित गरिएको छ। जसमा १७७ कविता सङ्गृहीत छन्। सो अवसरमा इञ्जिनीयर तथा कलाकार रिमाल, साहित्यकार श्यामल र अनुवादक शर्मा, पत्रकार जोशी, नेपाल ललितकला पत्रकार समाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायतले राजनीतिज्ञ तथा कवि रिमालको योगदानको प्रचारप्रसार हुनुपर्नेमा जोड दिएका छन्।

उनीहरुले पत्रकार श्यामका कवितामा राष्ट्रियता र प्रगतिशील दृष्टिकोण व्यक्त भएको बताएका छन्। पत्रकार श्यामका यसअघि ‘एउटा काँडा बिझ्दा’ गीत सङ्ग्रह(२०४८) तथा ‘त्रिशूलीको किनाराबाट’(२०६६) र ‘बारपाक’(२०७४) कवितासङ्ग्रह प्रकाशित भएका छन्। राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसादका कृतिहरूको समग्र प्रकाशन गर्ने तयारी उनका सुपुत्र मदनले गरेको तथा पत्रकार जोशीले साहित्यिक पत्रिका ‘शृङ्खला’को गोपालप्रसाद विशेषाङ्क प्रकाशन गर्ने योजना बनाएको जनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×