काठमाडौँ - फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै भक्तपुरमा यस वर्षको फागु पर्व सुरु भएको छ।
वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग, अविर दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो। तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ। काठमाडौँको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीविरङ्गी कपडाको ध्वजासहित तीन खण्डे चीर ठड्याएर फागु पर्व सुरु भएको मानिन्छ भने भक्तपुरमा तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ।
भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा भीमसेनको लिङ्गको प्रतीक तीन हात लामो र तीस इन्च गोलाकारको लिङ्ग आकारको काठ प्रदर्शनसँगै सुरु हुने फागुपर्वलाई विशेषगरी यौनरसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यङ्गय गर्ने चाडका रुपमा बेग्लै रौनक र तरिकाले मनाइने गरिन्छ। लिङ्गसँगै यौन समागमको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको हुन्छ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रुपमा लिइन्छ।
मन्दिरभित्र रहने सो लिङ्गलाई फागुपर्वको अवसरमा वर्षको सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले जानकारी दिए। “पहिला पहिला लिङ्गको प्रतिक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो। पछि यो खुल्ला रूपमा यसरी प्रदर्शनमा ल्याएको हो”, उनले भने। यो समय कामदेव आफै सक्रिय हुने भएकाले सृष्टिका लागि मानवजीवनमा यो अति उपयुक्त समय हो भन्ने सन्देश यसले दिएको उनको भनाइ छ। चीर स्वायगु अर्थात चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनको रूपमा लिनुपर्ने संस्कृतिकर्मी राजोपाध्यायले बताए।
“महादेवको ११औँ अवतारमध्ये भीमसेन पनि एउटा रुप हो । त्यसअर्थमा यो प्रदर्शनमा राख्नुलाई महादेव र पार्वतीको प्रतिकका रुपमा पनि लिन सकिन्छ”, उनले भने, “काठमाडौँमा विभिन्न रङ्गिन कपडासहित चीर ठड्याउँछ, जुन यसैसँग मिल्छ र गोप्य छ तर भक्तपुरमा भने खुल्ला रूपले प्रदर्शन गरिन्छ।” लिङ्गलाई प्रदर्शनमा राखिनु अघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरी रहेको घर र पसलमा परिक्रमा गर्ने परम्परा छ। घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ। त्यसैले, पार्टीमा प्रदर्शनमा राखिएको लिङ्गको दर्शनका लागि फागुपूर्णिमासम्म भक्तजनको घुइँचोसमेत लाग्ने गर्दछ।
फागुपूर्णिमाको दिन साँझपख सो लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यसवर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ। यसरी लिङ्ग बोकेर जाने व्यक्तिलाई पुत्रलाभ हुन्छ भन्ने जनश्रुति छ। यसरी लिङग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने एकीन तथ्य फेला परेको पाइँदैन। यद्यपि भीमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको इतिहास रहेकाले यो प्रचलन पनि सोही समयदेखि प्रचलनमा आएको अनुमान गरिएको छ।