काठमाडौँ - करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ। कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन।
हङकङमा कार्यालय खोलेर सुन तस्करीमा लागेका अडुकियाले चाँदीमा मिसाएर सुन तस्करी गरिरहेका थिए। उनले चाँदीमा मिसाएर ल्याएको सुन छुट्याउन मालीगाउँमा कारखाना खोलेको बताइएको छ। विभागको टोलीले त्यहाँ नपुगी घरमा मात्रै छापा मारेको एक व्यापारीले बताए। 'उनले विगत लामो समयदेखि चाँदीको कारोबार गर्दै आएको थियो। विमानस्थल भन्सारमा चाँदीको राजस्व तिरेर सुन ल्याउने र काठमाडौंमा छुट्याउने गरिएको थियो,' उनले भने। राजस्व अनुसन्धान विभागले खोजी गरिरहेका अडुकियाका बाबुछोराले नै मुलुक छाडेको अनुमान गरिएको छ।
नागरिक दैनिकबाट