४ सय ७६ दिनपछि हट्यो नेपाली रेलको घुम्टो

जनकपुर। सीमावर्ती ईनर्वा रेल्वे स्टेशनमा थन्काइराखिएको नेपाल रेल्वेको दुई सेट रेलको 'घुम्टो' ४ सय ७६ दिनपछि हटाइएको छ। त्रिपाल ओढाइराखिएको उक्त रेलको शनिबार ईनर्वादेखि कुर्थासम्म गुडाएर परीक्षणसमेत गरिएको छ। सम्बद्ध प्राविधिकहरूले रेलको परीक्षण सफल भएको जानकारी दिएका छन्।

उक्त रेल २०७७ साल असोज ३ गते भारतीय कम्पनी कोंकन रेल्वे कार्पोरेशनका मेकानिकल विभागका प्रमुख दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए। हस्तान्तरण भएको साढे १४ महिनादेखि दुवै थान रेल सेट सशस्त्र प्रहरीको सुरक्षामा ईनर्वामा राखिएका थिए। एक वर्षे वारेन्टीसहित नेपाल रेल्वेले भारतीय कम्पनीसँग उक्त रेल सेट ८४ करोड ६५ लाखमा खरिद गरेको थियो।

 रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा भइसकेकोले फेब्रुअरी मध्यसम्म नियमित रेल सेवा सञ्चालन हुने महाप्रबन्धक निरञ्जन झाले बताएका छन्। शनिबार सोही कोंकन रेल्वे कार्पोरेशनका चालकदलले रेल गुडाएका हुन्। कार्पोरेशनका ८ जना प्राविधिक गत सातादेखि सीमावर्ती भारतीय नगर जयनगरमा छन्। विधिवत रेल सञ्चालन हुनुअघि नेपाली प्राविधिकलाई तालिम दिनु आवश्यक भएको उल्लेख गर्दै नेपाल रेल्वे कम्पनी पुस २६ गतेदेखि जनकपुरको मत्स्य विकास केन्द्रमा १५ दिने तालिम सञ्चालन गर्दैछ। श्रोतका अनुसार तालिममा सहभागी हुने ५५ कर्मचारीको नाम पनि सम्बन्धित निकायलाई बुझाइसकिएको छ। तर तालिममा सहभागी हुने कर्मचारीहरूको नाम भने सार्वजनिक गरिएको छैन।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×