काठमाडौँ - विश्वमै पहिलो पटक प्रत्यारोपणमार्फत सुँगुरको मुटु प्राप्त गरेका अमेरिकी नागरिक डेभिड बेनेटको मृत्यु भएको छ। सुँगुरको मुटु प्रत्यारोपणमार्फत प्राप्त गरेको दुई महिनापछि उनको मंगलबार अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मृत्यु भएको हो। मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जारी गरेको वक्तव्यअनुसार केही दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको थियो। अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन।
बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा. बार्टली ग्रिफिथले भनेका छन्, ‘बेनेटको निधनले हामी मर्माहत भएका छौं। उहाँ एक साहसी र भद्र बिरामी हुनुहुन्थ्यो। जो जीवनको अन्त्यसम्म पनि लडिरहनुभयो।’
बेनेटका छोरा डेभिड बेनेट जुनियरले अपरेसनले काम गर्दैन भन्ने थाहा भए पनि बुवाले चिकित्सा क्षेत्रमा नयाँ खोजमा सहयोग पुर्याउन तयार भएको बताएका छन्। उनले दुई महिनाअघिको शल्यक्रियालाई ‘जादु’ को संज्ञा दिएका छन्। ‘हामी हरेक नवीन क्षण, हरेक पागल सपना र हरेक अनिदा रातहरू ऐतिहासिक प्रयासका लागि थिए भन्ने कुरामा आभारी छौं,’ अस्पतालद्वारा जारी वक्तव्यमा बेनेट जुनियरले भनेका छन्, ‘हामीलाई आशा छ, यो आशाको सुरुवात हो अन्त्य होइन।’
सुँगुरको मुटु प्रत्यारोपणपछि उनको आयु कति लम्बिन्छ भन्ने यकिन नभए पनि जीवन बचाउन यो नै अन्तिम विकल्प रहेको बताइएको थियो। मेरिल्यान्ड युनिभर्सिटीले शल्यक्रियाका लागि अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) सँग आकस्मिक अनुमति लिएको थियो। शल्यक्रियाअघि बेनेटले भनेका थिए, 'गर वा मरको अवस्थामा प्रत्यारोपण गर्न लागेको हुँ। म बाँच्न चाहन्छु। यो एउटा अँध्यारोमा हानिएको गोलीजस्तै हो। मसँग अरु विकल्प छैन।'
मानव अंग प्रत्यारोपणमा देखिएको संकट समाधानका लागि यो अनुसन्धान सहयोगी हुने र यसमा अझै खोजी गर्नपर्ने चिकित्सक बताउँछन् । अहिले पनि १ लाख १० हजारको हाराहारीमा अमेरिकामा अंग प्रत्यारोपणको पर्खाइमा रहेका छन्। चिकित्सकहरूका अनुसार सुँगुरको मुटु र मानिसको मुटुमा धेरै समानता हुनाले प्रत्यारोपण सफल भएको हो ।