मनसुन भर्खरै सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् ।
हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।
इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. चन्दभाल झाअनुसार अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ ।
‘भर्खरै मनसुन सुरु भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. झाले भने, ‘अबको चार महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’
उनका अनुसार अहिलेसम्मको तथ्यांकलाई हेर्दा अघिल्लो वर्षको तुलनामा कम फैलिएको छ । तर अबका चार महिना (असार, साउन, भदौं, असोज) डेंगु फैलिने अति जोखिम महिना हुन् ।
हिमालसम्म फैलियो डेंगु
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए। २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो।
२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भएका थिए
तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा ढाल्दै गएको छ । अब डेंगु सदाबहार देखिने थालेको इडिसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएको छ । केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो,’ डा. दाहालले भने, ‘ पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगेको छ ।’
ज्ञहरूका अनुसार १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्छ । डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ ।
‘हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे हिमालसम्म पुगेका छन्,’ डा. झा भन्छन्, ‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा डेंगु देखिएको छ ।’