सभापति लामिछानेको नेतृत्वमा रास्वपा ‘क्लोज क्याम्प’ मा बस्ने, गर्‍यो यस्ता सात निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (बिहीबार) पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका कार्यदल बनाउनेसहितका विभिन्न सात निर्णयहरु गरेको छ ।

बैठकले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजकत्पमा  कार्यदल बनाएको हो । कार्यदलको सदस्यमा सोबिता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम,  नारायण घिमिरे र शंकर श्रेष्ठ छन् । यसअघि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले पनि विधान संशोधन कार्यदल बनाएको थियो । संयोजक रहेका महामन्त्री डा. मुकुल ढकाल निलम्बनमा परेपछि कार्यदल हेरफेर भएको हो ।

बैठकले भदौको दोस्रो साता कर्णाली विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त अभियानमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने निर्णय भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानजकारी दिए । अभियान सम्बन्धी कार्ययोजना सहप्रवक्ता विपिनकुमार आचार्यले तयार पार्ने निर्णय गरिएको छ ।

यस्तै पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षण आयोजना गर्ने भएको छ । यसलाई क्लोज क्याम्प नाम दिइएको झाले जानकारी दिएका छन् । आजको बैठकले पार्टीको केन्द्रीय विभागहरूमा विभिन्न मितिमा मनोनीत सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको झाले जानकारी दिएका छन् ।

केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय पनि आजको बैठकले गरेका थिए । उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदा पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। आयोगको सदस्यबाट हटेपछि केन्द्रीय समितिमा फर्किएका हुन् ।

पार्टी सचिवालयले विभिन्न मितिहरूमा गरेका निर्णयहरूलाई अनुमोदन गरेको पनि झाले जानकारी दिए । पार्टीका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयहरूमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×