साफ यू-१५ महिला फुटबल च्याम्पियनसिप: नेपालको दोस्रो जित

काठमाडौँ - नेपालले बंगलादेशमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। शनिबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरेकी थिइन्। उनले खेलको ८७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। सिम्रन राईले पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिकलाई बंगलादेशकी गोलरक्षक अघि बढेको मौकामा वर्षाले बललाई जाली चुमाएकी थिइन्। जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो। बंगलादेश भने २ खेलमा ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। बंगलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोलले हराएको थियो।

नेपालले अब बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ। डबल राउन्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ। नेपालले बुधबार भुटानलाई पराजित गरेमा घरेलु टोली बंगलादेशलाई बराबरीमा रोके पनि उपाधि जित्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×