काठमाडौँ - चितवनको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन्। प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कमा नआउनेमा १३ महिला, १२ पुरुष, एक बालक, तीन बालिका र एक ज्येष्ठ नागरिक छन्।
गत आर्थिक वर्षमा १३ महिला, २७ पुरुष, दुई बालिका र तीन ज्येष्ठ नागरिक बेपत्ता थिए। फेला नपर्नेहरू साथीको घर जान्छु भनेर, स्कुलबाट घर नफर्किएर, बजार गएर आउँछु भनेर घरबाट निस्किएका बढी मात्रामा रहेको उनले जानकारी दिएका छन्। चालु आवको माघसम्ममा १०६ महिला, ८३ पुरुष, १६ बालक, ४८ बालिका र १७ ज्येष्ठ नागरिक हराएका मध्ये ९३ महिला, ७१ पुरुष, १५ बालक, ४५ बालिका र १६ ज्येष्ठ नागरिक परिवारको सम्पर्कमा आएका छन्। परिवारको सम्पर्कमा नआएकाको खोजी भइरहेको नरालले बताएकी छन्।
कार्यालयको महिला सेलमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेका छन्। चालु आवको सात महिनामा २६१ घरेलु हिंसाका घटना भएका छन्। खान लाउन नदिएको ६८, कुटपिटका १२६ र गाली बेइज्जतीका ६७ वटा छन्। नरालका अनुसार गत आवमा घरेलु हिंसाका घटना १५४ दर्ता भएका थिए।