काठमाडौं । केकी अधिकारी स्टारर ‘बोक्सीको घर’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । चौथो सप्ताहन्तसम्म कुल कलेक्सन ११ करोड हाराहारीमा रहेको उनले जानकारी दिइन् ।
यो कमाइसँगै ‘बोक्सीको घर’ २०८१ सालमा १० करोडको आँकडा पार गर्ने पहिलो नेपाली फिल्म बनेको छ । ‘तेस्रो सातासम्म हामी १० करोड जतिमा थियौं । फोर्थ विकेन्डमा ११ करोड हाराहारीमा पुगेका छौं,’ केकीले भनिन् ।
फिल्मले चारवटै सप्ताहन्तमा आकर्षक कमाइ गर्यो । केकीको शीर्ष भूमिका रहेको यो फिल्म उनले नै निर्माण गरेको पहिलो फिल्म समेत हो । यति मात्र होइन, एक करोड रुपैयाँभन्दा कम बजेटमा बनेको यो फिल्म सर्वाधिक नाफा गर्नेमध्येको फिल्म समेत बनेको छ ।
नेपाली समाजको बलियो मनोवैज्ञानिक ‘एसोसिएसन फ्याक्टर’ बोक्सी कुपथ्राबारे बनेको यो फिल्मलाई विशेषगरी महिला र पारिवारिक दर्शकले हेरेका थिए । नेपालमा सुपरहिट भएपछि विदेशमा समेत यसको माग बढेको थियो ।