काठमाडौँ - ‘रेशम फिलिली’ फेम्ड अभिनेता विनय श्रेष्ठले भारतमा नेपाली फिल्मको वितरणदेखि निर्माणमा संयुक्त लगानी थालेका छन्। उनको कम्पनी भी मोसन पिक्चर्सले भारतस्थित नेपालीभाषी बहुल क्षेत्रमा नेपाली फिल्म वितरण थाल्ने भएको छ। जसअनुसार भारतीय कम्पनी द आर्ट ब्यारिअर्ससँग सम्झौता भएको छ।
सहमतिअनुसार सौगात मल्ल स्टारर फिल्म मन्त्रलाई भारतमा प्रदर्शन गरिने भएको छ भने भारतमा निर्माण भएको फिल्म ‘ज्यूँदो’लाई दशैंपछि नेपालमा रिलिज गर्ने तयारी रहेको छ। अहिले भारतको सेन्सर बोर्डबाट मन्त्रलाई जाँचपास गर्ने तयारी सुरु भएको र त्यसपछि रिलिज मिति तय गर्ने विनयले जानकारी दिएका छन्।
‘भारतस्थित नेपालीभाषी बस्ने ठाउँ नेपाली फिल्मको ठूलो बजार हो। म कालिम्पोङ बस्दादेखि नै त्यो परिस्थिति देखेको छु,’ विनय भन्छन्, ‘उनीहरु युट्युक रिलिज कुरेर बस्छन्। हामीले सेम-डेट रिलिज गर्न सकियो भने हामीलाई फाइदा हुन्छ,’ उनले भने।
अहिले भी मोसन पिक्चर्सले पानीफोटो, प्रकाश, दुई नम्बरीलगायतका फिल्मको प्रदर्शन अधिकार लिन पहल गरिरहेको छ।
यसैबीच, भारतीय कम्पनी वन्स अपन अ मुम्बईसँग पनि नयाँ फिल्म निर्माणबारे विनयको कम्पनी भी मोसन पिक्चर्सले सहमति गरेको छ। उक्त भारतीय कम्पनी शाहरुख खानको रेड चिल्लिजमा कार्यकारी निर्मात्री भएर कम गरेकी सलोनी पोदारको हो।
भी मोसनसँग सलोनीको कम्पनीले नयाँ प्रोजेक्टमा काम गर्न लागेको हो। नेपाली र हिन्दी भाषामा बन्ने फिल्म मनोरञ्जनात्मक विषयवस्तुमा निर्माण हुन लागेको श्रेष्ठले बताएका छन्। विनय अहिले भदौ १ गते छायांकन सुरु हुने नेपाली फिल्म ग्रहणको तयारीमा छन्। त्यसपछि उनको नयाँ फिल्मको निर्माण सुरु हुनेछ।