काठमाडौँ - जसप्रित बुमराहले ६ विकेट लिनुका साथै ओपनर रोहित शर्मा र शिखर धवनले ११४ रनको अविजित साझेदारी गरेपछि भारतले इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० विकेटको शानदार विजय हासिल गरेको छ।
लन्डनको केनिङ्टन ओभलमा भारतका कप्तान रोहित शर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए। तिब्र गतिका बलर बुमराहले १९ रन दिएर ६ विकेट लिएर कप्तानको निर्णयलाई सही सावित गरिदिए। इङ्ल्यान्डले २५.२ ओभरमा ११० रन जोड्दा सबै विकेट गुमाएको थियो। १११ रनको लक्ष्य भारतले १८.४ ओभरमा विना विकेट क्षति पूरा गरेको हो।
घरेलु टोली इङ्ल्यान्डका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्। कप्तान जोस बट्लरले ३० रन बनाउँदा डेबिड विलेले २१, ब्रेडन कार्सले १५ र मोइन अलीले १४ रन बनाएका थिए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका बुमराहले ७.२ ओभरमा ३ मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए। बुमराहलाई मोहम्मद शामीले ३ र प्रसिद कृष्णले १ विकेट लिएर साथ दिए।
१११ रनको लक्ष्य पूरा गर्ने क्रममा ओपनर रोहित शर्माले अविजित ७६ रन बनाएका थिए। उनले ५८ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए। धवनले अविजित ३१ रन बनाए। धवनले ५४ बलमा ४ चौका प्रहार गरे।
यसअघि भारतले ३ खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेको थियो।