कवि सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह तेल भिसामाथि परिचर्चा

पोखरा - नेपाली लेखक संघ, कास्कीले कवि सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह तेल भिसामाथि परिचर्चा गरिएको छ। शनिबार पोखरामा आयोजित कार्यक्रममा समालोचक डा.भूमिराज बस्ताकोटीले उक्त कृतिमाथिको परिचर्चा गरेका हुन्।

उक्त कार्यक्रममा कृतिको परिचर्चा गर्दै परिचर्चाकार बस्ताकोटीले तेल भिसा समसामयिक जीवनको उत्कृष्ट प्रतिबिम्ब उतार्न सफल कविता कृति रहेको बताएका छन्। उनले कविको विषय प्रस्तुतिको शैलीलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए। सरल भाषा र शैलीमा गहनभाव पस्कन सक्नु सुरेन्द्रको वैशिष्ट्य रहेको उनको ठम्याइ थियो। सङ्ग्रह पठनीय हुँदाहुँदै पनि यसमा केही विचारगत, अर्थगत, वर्णविन्यासगत त्रुटिहरू रहेको र त्यसले कृतिलाई उत्कृष्ट बन्नबाट रोकेको उल्लेख गरेका छन्।

उक्त परिचर्चा कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै संघका केन्द्रीय अध्यक्ष एवम् कवि तीर्थ श्रेष्ठले राज्यले स्रष्टा-लेखकहरूलाई सम्मान गर्न नसकेकामा दुःख प्रकट गरेका छन्। उनले व्यक्तिगत क्षमताकै आधारमा केही सर्जकहरू लेखेर बाँच्ने अवस्था भए पनि अधिकांश उत्कृष्ट कृति सिर्जना गर्ने सर्जक एवम् लेखक पनि लेखनकै आधारमा सम्मानित जीवन बाँच्न सक्ने अवस्था नभएको बताएका छन्।

समग्र लेखकहरूको हकहितका लागि लेखक दिवस मनाउने प्रस्ताव संघले राखेको र प्रतिलिपि अधिकार प्राप्तिका लागि लेखक संघको लडाईँ निष्कर्षमा पुर्याएर छाडिने प्रतिबद्धता व्यक्त गरेका छन्। सुरेन्द्र जस्तै निरन्तर साधना गर्ने सर्जकको जीवनको सुरक्षाका लागि र लेखकीय स्वतन्त्रताका लागि देशभरका लेखकहरू एक हुन र लेखक संघको अभियानलाई साथ दिन पनि उनले आग्रह गरेका छन्।

सो क्रममा सुरेन्द्रको लेखनशैली र क्रियाशीलता अनुसरणीय रहेको उल्लेख गर्दै डा. ईश्वरमणि अधिकारीले उनको उज्ज्वल साहित्यिक भविष्यको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा कवि अस्तफलले आफ्ना दस कविता समेत वाचन गरेका थिए। कविता प्रस्तुतिसँगै मन्तव्य व्यक्त गर्दै उनले कृतिमा रहेका त्रुटिलाई आगामी लेखनमा सच्याउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।

चितवनमा रही नेपाली कविता लेखनका क्षेत्रमा विगत ३ दशकदेखि क्रियाशील सुरेन्द्र निरन्तर कविता साधनामा तल्लीन छन्। उनी नेपाली लेखक संघका केन्द्रीय सदस्य हुन्। लेखक संघ, कास्कीका अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कमल पौडेल अथक र रीता अधिकारी ‘रितु’ पनि कविताकृति बारे बोलेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×