काठमाडौँ - बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जीप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले दिएको जानकारी अनुसार मृत्यु हुनेहरु एकै गाउँमा बसोबास गर्थे।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ।
जीप सवार पाँच जना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।