आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टामा आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ । केन्द्रको उद्घाटन नगरपालिकाका नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले गरे । आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित चारकोठे पक्की भवनमा सुविधा सम्पन्न रहेको छ ।

‘विकासको पहिलो आधार भनेको स्वास्थ्य सेवा नै हो’, नगरप्रमुख आचार्यले भने, “नगरपालिकाले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिएको छ ।” ग्रामीण क्षेत्रका अधिकांश नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित रहेको भन्दै उनले नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रले यो कमीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उपप्रमुख उप्रेतीले संविधानले प्रत्याभूत गरेको मौलिक अधिकारभित्र रहेको स्वास्थ्य सेवाले यस क्षेत्रको स्वास्थ्य सेवा विस्तारमा मद्दत मिल्ने बताइन् । नगरवासीमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्थानीय सरकार लागिपरेको उनको भनाइ छ ।

मेचीनगरमा वडा नं ३, ५, ७, ८ र १३ मा आफ्नै भवनबाट आधारभूत स्वास्थ्य केन्द्र सञ्चालित छ । वडा नं १ को निर्माण कार्य सम्पन्न भइसकेको र २ नं वडाको निर्माण प्रक्रियामा रहेको तथा १२ नं वडामा जग्गा व्यवस्थापन भइसकेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिइन् । आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटनका अवसरमा महिलाको आङ खस्ने तथा पाठेघरको मुखको क्यान्सरको पूर्वपरीक्षण एवम् निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×