बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले एक वर्षे २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग न्यून रहँदा ठूलो परिमाणमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले पुस १४ गते सोमबार एकैपटक २५ अर्ब रुपैयाँ बराबरको रकम बैंकिङ प्रणालीबाट तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (क)’ नाम दिइएको उक्त ऋणपत्रको भुक्तानी आगामी वर्ष पुस १४ गते हुनेछ। ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस ऋणपत्रको ब्याजदर बोलकबोल प्रणालीमार्फत निर्धारण हुनेछ भने बैंक तथा वित्तीय संस्थाहरू मात्र यसमा सहभागी हुन सक्नेछन्। हाल एक वर्षभन्दा कम अवधिका विभिन्न मौद्रिक उपकरणमार्फत राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ८ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी रकम तानेको छ।

बैंकिङ प्रणालीमा पछिल्ला दुई वर्षभन्दा बढी समयदेखि अधिक तरलता देखिँदै आएको छ। यस क्रममा राष्ट्र बैंकले बैंकहरूमा राखिएको अतिरिक्त रकमको ब्याजस्वरूप तिर्नुपर्ने खर्च समेत उल्लेखनीय रूपमा बढेको छ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा ८ करोड २० लाख रुपैयाँ ब्याज तिरेको राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब १३ करोड रुपैयाँ ब्याज तिरेको छ। आर्थिक वर्ष २०८०/८१ मा भने यो खर्च २ अर्ब १८ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्ष २०८२/८३ मा यस्तो ब्याज लागत अझै बढ्ने अनुमान गरिएको छ। हाल निक्षेप संकलन उपकरणमा औसत २.७३ प्रतिशत ब्याजदर रहेको छ भने स्थायी निक्षेप सुविधामा तीन दिनका लागि ३ प्रतिशत ब्याज प्रदान गरिँदै आएको छ।

राष्ट्र बैंकले बजारमा अधिक तरलता हुँदा निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरणमार्फत पैसा तान्ने र तरलता कम हुँदा पुँजी प्रवाह बढाउने नीति लिँदै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×