काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।
उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरूले आफ्नो धारणा राख्ने क्रम साेमबार सकिएको छ ।
उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए ।
शुक्रबारदेखि शुरू भएको बैठकमा सोमबारसम्म १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।
नेताहरूले उठाएको प्रश्नको मङ्गलबार आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ ।
पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवं सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरूले धारणा राखेका थिए ।
नेताहरूको धारणालाई संश्लेषण गरेर अध्यक्ष प्रचण्डले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।