काठमाडौँ - लागुऔषधविरुद्ध सन्देश दिने फिल्म ‘सरी मम’को टिजर सार्वजनिक भएको छ। अभिनेत्री सरिता लामिछानेको जन्मदिन छेकोमा टिजर सार्वजनिक भएको हो।
दुर्व्यसनमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले व्यक्ति र परिवारलाई पार्ने असरलाई फिल्ममा समेटिएको छ। निर्माता विनोद लामाका अनुसार फिल्म अब मंसिर २९ गते रिलिज हुने भएको छ। पूर्वघोषित मिति मंसिर १५ गते बागमती प्रदेशमा मात्रै फिल्म रिलिज गर्ने तयारी छ।
नवीन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिश राई, प्रभात पल, प्रेविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ र युनिसा बजगाईंको अभिनय रहेको छ। फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ। आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छिन्।
किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारिटीलाई स्थानीय सरकार र क्लबसँग मिलेर प्रदर्शन गरिने भएको छ।