नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

काठमाडौँ । बाँकेको राप्ती नदीमा अवैध रूपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीयवासीले माग गरेका छन्। उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन्।

जल उपभोक्ता समितिको मूल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टेपरी हुँदै सिधनिया पुलसम्मको क्षेत्रमा स्काभेटर र जेसिबी प्रयोग गरेर अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयवासी चमेली बाकवलले जानकारी दिए। उनका अनुसार, राप्ती नदीमा अवैध रूपमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भई बगरमा परिणत हुने र वर्षातमा बस्ती नै डुबानमा पर्ने जोखिम बढ्दै गएको छ। राप्तीसोनारी–६ फत्तेपुरका स्थानीयवासीले आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा अवैध रूपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले राप्ती नदीमा भइरहेको दोहन रोक्न माग गरेको स्थानीयवासी बनिलाल थारुले बताए। स्थानीयले नदीबाट हुने कटान, पटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गरिदिनुपर्ने माग पनि गरेका छन्। जिल्लामा नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का प्रक्रिया सुरु हुन नसक्दा अवैध रूपमा उत्खनन भई करोडौँ राजस्व गुमेको छ।

चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि बाँकेका नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन। ठेक्का प्रक्रियामा नजाँदा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार भई राजस्व गुम्न पुगेको छ। सो अवसरमा प्रजिअ खत्रीले राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि आफ्नोतर्फबाट पहल गर्ने जानकारी दिएको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×